पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ : देउवा

Google+ Pinterest LinkedIn Tumblr +

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको बताएका छन्।

दुई नम्बर प्रदेशको पार्टी भेलालाई राजधानीमा सम्बोधन गर्दै देउवाले अन्तर्घातकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेसले पहिलो पार्टी बन्ने अवसर गुमाएको बताएका हुन्। देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई कारबाही नगरे पार्टीमा ठूलो क्षति हुन्छ, चुनावका अन्तर्घातीलाई पार्टीबाट निष्कासित गर्छौँ।’

निर्वाचनमा आकांक्षी हुनु स्वभाविक भएको बताउँदै उनले आफूले टिकट पाएमात्र जितिने भ्रम नपाल्न नेता कार्यकर्तालाई अनुरोध गरेका छन्। देउवाले तेश्रो चरणको निर्वाचनमा पहिलो र दोश्रोमा भएको क्षतिको ‘मेकअप’ गर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि व्यक्तिगत स्वार्थ छाडेर लागिपर्न कार्यकर्तालाई निर्देशन समेत दिए।

देउवाले दुई नम्बर प्रदेशको निर्वाचनका लागि अघिल्ला निर्वाचनबाट पाठ सिकेर डेढ महिना अगावै उम्मेदवार छनोट गरिसक्ने जानकारी दिए।

रामचन्द्रले भनेः उम्मेदवार स्थानीय तहमै टुंग्याउनुस्
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार छनोटको बिषय स्थानीय तहमै टुंग्याउनुपर्नेमा जोड दिएका छन्। अघिल्ला निर्वाचनहरुमा स्थानीय स्तरबाट टुंगिएका उम्मेदवारले चुनाव जितेको तर केन्द्रबाट टुंगो लागेका उम्मेदवार पराजित भएको बताउँदै पौडेलले गुटबन्दीका आधारमा टिकट नबाँड्न सभापति देउवालाई अनुरोध गरे।

‘सकभर उम्मेदवार जिल्ला वा क्षेत्रलेनै टुंग्याएको राम्रो हुन्छ, उम्मेदवार छनोटको विषय केन्द्रमा आइसकेपछि यो गुट र त्यो गुट भन्ने चर्चा हुन्छ’, उनले भने,‘यसअघिका अनुभवलाई आधार मान्ने हो भने केन्द्रबाट छानेर पठाएका उम्मेदवारले चुनाव हारेका छन्, स्थानीय तहबाटै छानिएकाले जितेका छन्, पार्टी सभापतिले पनि गुटका आधारमा टिकट बाँड्नु भएन।’

पौडेलले आफ्नो गृहजिल्ला तनहुँको भानु र शुक्लागण्डकीमा आफ्नो मान्छेलाई टिकट दिएको भए हारिने निश्चित भएको उदाहरण दिँदै दुई नम्बर प्रदेशको निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए। राजनीतिमा स्थायी शत्रु नहुने भन्दै पौडेलले स्थानीय तहमा समेट्न नसकिएका नेता कार्यकर्तालाई प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा समेट्ने आश्वासन दिए।

कांग्रेसको विकल्प कांग्रेस नै भएको तर्क गर्दै पौडेलले एमालेले फैलाएका प्रपोगाण्डा चिर्न कार्यकर्तालाई निर्देशन दिए। उनले कांग्रेस मधेसबाटै जन्मिएकाले दुई नम्बर प्रदेशले नै कांग्रेसलाई पुनः एक नम्बर पार्टी बनाउने विश्वास व्यक्त गरे। पौडेलले संविधान संशोधन प्रस्ताव सरकारले तेश्रो चरणको निर्वाचन अगावै दर्ता गर्नुपर्नेमा जोड दिए।

‘कांग्रेस, मधेस र लोकतन्त्र पर्यायबाची हुन्, त्यसकारणले कांग्रेसबिरुद्ध जुन भ्रमहरु छन् त्यसलाई चिर्नुपर्छ, जनताले मधेसमा कांग्रेसलाई चाहेका छन्, कांग्रेसले नै मधेसलाई न्याय दिन सक्छ’, उनले भने,‘संविधान संशोधन प्रस्ताव पास गराउने प्रयास गरेका छौं, निर्वाचन अगाडि नै हामी त्यसलाई पेस गर्छौँ, त्यसले पक्ष र विपक्ष मा को को छन् थाहा हुन्छ।’

यस्तै, महामन्त्री सशांक कोइरालाले गिरिजाप्रसादको भनाइ स्मरण गर्दै भने, ‘कांग्रेसले मात्र कांग्रेसलाई हराउन सक्छ।’ कोइरालाले कांग्रेस दुई नम्बर प्रदेशबाट पहिलो पार्टीका रुपमा आउने भन्दै असन्तुष्ट नेता कार्यकर्तालाई प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा व्यवस्थापन गर्ने बताए।

यस्तै, नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन विधेयक प्रकृयामा लैजान कांग्रेस तयार रहेको बताए। उनले आफ्नो पार्टी विधेयक पास गराउन लाग्ने र पास नभएको खण्डमा मधेसको पक्ष र विपक्षमा को को रहेछन् भनेर प्रष्ट हुने बताए।
कांग्रेस कोषाध्यक्ष सितादेवी यादवले एमाले बाध्य भएर संविधान संशोधनको पक्षमा भोट हाल्ने बताइन्।

Share.

Leave A Reply