सरकार, निर्लज्ज र निकम्मा सावित भैसक्यो : नेता धिताल

Google+ Pinterest LinkedIn Tumblr +

काठमाडौं । नेपाली कांग्रेसका जल्दाबल्दा नेताका रुपमा बिष्णु धिताल परिचित नाम हो । कांग्रेस भित्रको गुटउपगुटका कारण क्षमता भएर पनि उपयुक्त अवसर र जिम्मेवारी नपाउने नेता मध्ये उनीपनि पर्छन । अवसरका लागि आफू कांग्रेसमा नलागेको बताउने नेता धिताल प्रजातान्त्रिक मूल्य, मान्यताको रक्षा र मुलुक तथा जनताका लागि सदैव समर्पित भएर लागिरहने बताउँछन ।

नेता धितालका अनुसार बर्तमान केपी ओली सरकारले नेपाली कांग्रेस मात्र होइन प्रजातान्त्रिक संस्कार र जनताका मौलिक अधिकार माथि नै सुनियोजितरुपमा प्रहार गरिरहेको छ । पछिल्लो समय ल्याइएको अपराध तथा देवानी संहिताका कतिपय प्रावधानका कारण चिकित्सक संघ, पत्रकार, यातायात व्यवसायी सरकारबिरुद्ध आन्दोलिन हुनु सरकारको अलोकप्रियताको मापन भएको उनको तर्क छ । प्रस्तुत छ, उनै धितालसंग गरिएको कुराकानी ।

अहिले देशमा काँग्रेसले के गर्दैछ ?

यतिबेला  नेपाली काँग्रेस विधान संशोधनबाट पार्टीलाई चलायमान बनाउने लक्ष्यका साथ अघि बढ्दैछ ।

काँग्रेस पार्टीको विधान संशोधनमार्फत के गर्न चाहन्छ ?

मुलुक संघीयतामा आइसक्यो, हालसम्म नेपाली काँग्रेस पुरानै विधानमा चलिरहेको छ । देशमा लोकतान्त्रिक गणतन्त्र र संघीयता आइसकेको अवस्थामा काँग्रेसको विधान पुरानै छ । देशमा संघीयता लागु भइसकेपछिको अवस्थामा त्यो संघीयताअनुरुप पार्टीलाई अगाडि लैजान सकेका छैनौं । संघीयताअनुरुप पार्टीका धेरै नेता, कार्यकर्ता र शुभेच्छुकहरुको व्यवस्थापन गर्न पार्टीले जरुरी ठानेको छ । संघीयतापछिको प्रदेश, नगरपालिका, गाउँपालिकाअनुरुप पार्टी र संगठनलाई पुनर्ताजगी गर्नुपरेकोले विधान संशोधन गरेर पार्टी र संगठनलाई चुस्त, दुरुस्त बनाउनेतर्फ सिंगो पार्टी र नेता तथा कार्यकताहरुको ध्यान त्यतातर्फ लगाएका छौं ।

निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भयो, यही पुरानै विधानमा चलेर हो ?

नेपाली काँग्रेस पछाडि पर्नुमा एउटा त पुरानै विधानमा चलेरपनि हो । खास धेरै कारणहरु छन् । स्वयं नेपाली काँग्रेसभित्र समस्याहरु यथावत छँदै छन् । कम्युनिष्टबीचको एकताका कारण पनि काँग्रेस पछाडि परेको छ । एउटै सिंगो काँग्रेस पार्टी छ । तर, काँग्रेसीभित्र एउटै मनहरुको एकता छैन । चुनावका बेला एउटा काँग्रेसले अर्का काँग्रेसलाई सहयोग नगरेका कारण काँग्रेस पार्टीले हारेको हो । काँग्रेसले हार्नुमा जुन क्षेत्रमा जसको प्रभाव छ, उसलाई टिकट नदिएर अर्कैलाई टिकट दिदाँ त्यहाँ काग्रेसले हारेको छ ।

काँग्रेसले उपयुक्त पात्र रोज्न सकेन भन्न खोज्नुभएको हो ?

हो, चुनावका लागि टिकट दिनेसम्बन्धमा काँग्रेसले संगठनभित्रका चुस्त, दुरुस्त साथीहरुलाई चिन्न र बुझ्न नसकेकै हो । टिकट दिने सवालमा पार्टी व्यक्तिवादी बनेर आफ्नो मान्छेमात्र खोज्यो । संगठनको मान्छे खोज्नुपथ्र्यो । समयानुकूल आफ्नो कार्यकर्ताबीच पुग्न नसक्नु काँग्रेसको अर्को कमजोरी रह्यो । पार्टी कार्यकर्तामुखी बन्नुपथ्र्यो, नेतामुखी बन्यो । यस्ता, धेरै प्राविधिक समस्या काँग्रेसमा रहेका कारण चुनावमा हार्नु परेको हो ।

यसको जिम्मेवारी नेतृत्व वर्गले लिने हो ?

यसको जिम्मेवारी नेतृत्व वर्गले नै लिनुपर्छ । कार्यकताहरुको जिम्मेवारी भनेको पार्टीको प्रचार प्रसारमा लाग्ने हो । मतदाताहरुलाई मत हाल्न सिकाउने हो । कार्यकर्तालाई सक्रिय रुपमा परिचलन गर्न नसक्नु, उनीहरुलाई सक्रिय भूमिका र जिम्मेवारी नदिनु, तत् तत् क्षमताअनुसारको भूमिका कार्यकर्ताले नपाउनुमा नेतृत्व बर्गकै दोष हो । पार्टीको गाउँ कमिटिदेखि नगर कमिटि, जिल्ला कमिटि, क्षेत्रीय कमिटि गठन गर्ने कुरामा पार्टीले सही भूमिका खेल्न नसक्नुमा नेतृत्व बर्गमै केही दोषहरु रहेका छन् ।

सभापति देउबा र बरिष्ठ नेता पौडेलबीचको टकराव के हो ?

पार्टीभित्र कोही, कसैबीच टकराव छैन । यो नितान्त पार्टी सभापति देउबा र बरिष्ठ नेता पौडेलबीचको राजनीतिक प्रतिस्पर्धा हो । राजनीतिक प्रतिष्पर्धामा एकले पार्टीभित्रको कार्यकर्ताहरुको मन जितेर पार्टीलाई अगाडि बढाउन खोज्नु स्वाभाविक मान्दछु । राजनीतिक प्रतिष्पर्धाका नाममा संगठनभित्रका कार्यकर्तालाई पाखा लगाउने र आफ्ना मान्छेहरुलाई खास समयमा अगाडि सार्ने प्रबृत्ति चाँही तत्काल बन्द हुनुपर्दछ । यस्तो प्रबृत्ति दुबै नेता देउवा, पौडेललगायत अन्य धेरै नेताहरुमा हावी छ । अब, बन्ने विधानमार्फत यस्तो प्रबृत्तिको अन्त्य र विधानअनुरुप नै काँग्रेसलाई चल्नुपर्छ ।

काँग्रेसलाई सही ट्रयाकमा ल्याउने भनेको अब बन्ने नयाँ विधान नै अचुक अस्त्र हो त ?

हो, काँग्रेसलाई विधानअनुसार नचली सुखै छैन । हिंजोका पार्टी सभापति शुशील कोइराला पार्टीको विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । हालको निर्वाचित पार्टी सभापति देउवा पनि पार्टीको विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । तागत थपेर पार्टीलाई अगाडि लैजानुपर्छ । त्यो ढंगले पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन सकिएन भने पार्टी राम्ररी चल्दैन । जुन कुरामा पनि बखेडामात्रै झिकेर पार्टीलाई राम्रो गर्दैन ।

काँग्रेसकै जिम्मेवार नेताहरुबाट काँग्रेसभित्र अराकता छ, मतभेद छ, पार्टी विग्रहतर्फ उन्मुख छ भन्ने प्रतिक्रिया दिन्छन्, यस्तो प्रतिक्रियासँग के तपाँई पनि सहमत हुनुहुन्छ ?

यस्तो प्रतिक्रियासँग म सहमत छैन । नेपाली काँग्रेस पार्टी लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र सामान्य विवाद छ, प्रतिस्पर्धा छ । पार्टीभित्र अराकता छ भन्ने कुरा म मान्दिन । नेपाली काँग्रेस संस्थागत ढंगले चलेको छ र चल्नुपर्छ पनि । कहीँ कतै त्यस्तो भइहालेको छ भने त्यो व्यक्तिगत कुरा हो । सांगठनिक कुरामा काँग्रेसभित्र कोही त्यस्तो अराजकता छैन । त्यतिमात्र होइन, काँग्रेस गणतन्त्र र लोकतन्त्रको हिमामयती हो । काँग्रेसीहरु अराजक बनिदिएको भए देशबाट राणाहरु, पञ्चहरु र राजालाई हटाउन सकिने थिएन । काँग्रेसकै नेतृत्वमा नयाँ संविधान बन्यो । संघीयताको लागुसँगै काँग्रेसले नै निर्वाचन गरायो । काँग्रेस देश र जनताको काम गर्न चाहने पार्टी हो । उसले आफूले गरेका राम्रा कामहरुलाई जनताबीच लैजान सकेन र पछाडि प¥यो ।

वर्तमान केपी ओली सरकारको काम कारवाहीलाई कसरी मुल्यांकन गर्नु भएको छ ?

वर्तमान सरकार तल्लोस्तरमा गिरेको छ । सरकार, निर्लज्ज र निकम्मा सावित बनेको छ । मुलुकमा अहिले हत्या, हिंशा, महङ्गीब्याप्त छ । राष्ट्रिय रुपमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा पनि सरकारले बद्नामी कमाएको छ । फेसबुकमार्फत सरकारको विरोध गरेको आरोपमा व्यक्तिहरुलाई थुनाइएको छ । पत्रकार, मानवअधिकारकर्मी, व्यापारीमाथि आक्रमण गर्दै आएको छ । सरकारले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्छ । ओली सरकार असफल भइसकेको छ ।

Share.

Leave A Reply